काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै थप ७ वटा जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ ।
मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् । योसँगै निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ३० पुगेको छ ।
यी जिल्लामा अत्यावश्यक र प्रशासनले अनुमति दिएका बाहेकका पेसा÷व्यवसाय तथा सेवा सञ्चालनमा रोक लगाइएको छ ।
गुल्मी, प्यूठान र उदयपुरमा जिल्लाभर र काभ्रे, मकवानपुर, गोरखा र बाजुरामा जोखिम बढेका क्षेत्रमा निषेध आदेश जारी भएको हो ।
काभ्रे र मकवानपुर प्रशासनले आज मध्यरातदेखि लागू हुने गरी मुख्य राजमार्ग र आसपासको क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा लगाउने भएका हुन् । त्यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेध आदेश जारी भएको छ ।
गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुनेछ । योसँगै काठमाडौं उपत्यकासहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।