काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप भारतबाट ल्याउन आजदेखि प्रक्रिया थालिने भएको छ । भारतको सिरम एन्स्टिच्युटले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई यहि साता उपलव्ध गराउने भएको छ ।
भारतले आजदेखि नेपालसहित माल्दिभ्स, बङ्लादेश, भुटान, म्यानमारलगाएतका देशलाई अनुदानमा खोप उपलब्ध गराउने प्रक्रिया थाल्ने भएको हो ।
भारतको विदेश मन्त्रालयले यी देशहरुलाई निःशुल्क औषधी दिने औपचारिक घोषणा आज गर्ने तयारी गरेको छ । भारतले खोप अनुदानमा दिने भएपनि मात्राका बारेमा भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।
नेपालको औषधि व्यवस्था विभागले यही माघ २ गते एसआईआईले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगका लागी अनुमति दिएको थियो । प्रयोगका लागि अनुमती दिएपछि खोप ल्याउने प्रक्रिया सुरु गर्न लागिएको हो ।
सरकारले कोरोना विरुद्धको खोप अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर लगाइदिने निर्णय गरेको छ । खोप लगाउदा त्यसको सहायक असर देखिए सरकारले नै उपचार गरिदिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना भाईसर विरुद्धको खोपका लागी ४८ अर्व रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । मन्त्रालयका अनुसार खोप लगाउनका लागि आवश्यक धेरै तयारी पूरा भएकाले खोप आउने वित्तिकै लगाउने मिती सार्वजानिक गरिने छ।
कोरोना भ्याक्सिन भारतबाट ल्याउने वित्तिकै त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कोल्ड स्टोरमै राखिने मन्त्रालयले जनाएको छ । देशभर २८ वटा कोल्डरुम रहेकामा ११ वटालाई खोप भण्डारणका लागी तयार पारिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
मन्त्रालयले पहिलो चरणमा तीन प्रतिशत जनतालाई खोप दिने लक्ष्य राखेकोले विभिन्न ठाउँमा खोप पु¥याउन ३ वटा भ्यान पनि तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।