काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ खोपका लागि खोप कोषमा योगदान गर्न आव्हान गरेको छ ।
कोभिड–१९ प्रतिरोधात्मक भ्याक्सिन खरिदका लागि स्रोत व्यवस्थापनका लागि सरकारले खोप कोषलाई बलियो बनाउने जनाउँदै मन्त्रालयले योगदान आवहान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को रोकथामको लागि विभिन्न देशका अनुसन्धानकर्ताले गरेको अनुसन्धानअनुसार सो रोगविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समूहहरुलाई निःशुल्क उपलब्ध गराउन सरकारले तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
भ्याक्सिन खरिद, ढुवानी र नेपालमा व्यवस्थापन तथा वितरणको प्रबन्ध मिलाउन पर्याप्त स्रोत व्यवस्थापनका लागि कोषको आकार बढाउने तयारी गरिएको उल्लेख गर्दै मन्त्रालयले योगदान आवहन गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रारम्भिक अनुमानमा नेपालमा कोभिड भ्याक्सिन खरिद, व्यवस्थापन, भण्डारण लगायतका कार्य गर्न ४८ अर्ब लाग्ने छ । त्यसकै लागि स्रोत व्यवस्थापन गर्न कोष प्रभावकारी बनाउन खोजिएको हो ।
निजी क्षेत्र र दातृ निकायले कोषमा योगदान गरे त्यसलाई आय करमा खर्च गणना गर्न दिने उल्लेख छ । अर्थ मन्त्रालयले कोभिड कोषमा आवश्यक सहयोग माग गर्न र नेपालको अवस्थाबारे जानकारी दिन दातृ निकायका स्थानीय प्रतिनिधिसँग केही दिनअघि अनौपचारिक छलफल पनि गरेको थियो ।