काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको अध्यक्षमा गणेश कार्की निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षमा भरत खत्री पनि निर्विरोध चयन हुनुभएको छ ।
निर्वाचन समितिले उजुरीको आधारमा उम्मेदवारी रद्द गरेसँगै इप्पानको अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारी पदका उम्मेदवार निर्विरोध चयन भएका हुन् ।
निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धी किरण मल्ल लगायतका पदाधिकारीको उम्मेदवारी रद्द गरेसँगै इप्पानको नयाँ अध्यक्षमा कार्की निर्विरोध हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार परेको भन्दै उजुरी भएको थियो। उजुरी परेसँगै निर्वाचन समितिले योग्यता नपुगेका उम्मेदवारहरुको उम्मेदवारी बुधबार रद्द गरेको हो । यता उपाध्यक्ष खत्रीले आफू निर्वाचित भइसकेपछि निम्न विषयमा प्राथमिकता दिने बताउनुभएको थियो ।
भरत खत्रीका एजेण्डा :–
१. इप्पानको उद्देश्य र लक्ष्यअनुसार सम्बन्धित निर्देशित कार्य गर्ने ।
२. यथासक्य व्यवसायिक हक लक्षित विद्युत ऐन निर्माणमा लाग्ने ।
३. विगत लामो समयदेखि रोकिएको पीपीएहरू गर्न पहल गर्ने ।
४. विभिन्न समयमा हाइड्रो पावरको प्रोमोटर शेयर संरचना तथा शेयर लकइन अवधि सम्बन्धमा हुने गरेका वादविवादहरूको अन्त्य गर्ने ।
५. पीपीएमा उल्लेख भएको असमान प्रावधानहरूको उचित समाधान गर्ने ।
६. नेपालको सबै तहमा विद्युतीकरण गर्ने र सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने ।
७. नेपाल विद्युत प्राधिकरणद्वारा बिक्री गरी सरप्लस जलविद्युतको छिमेकी राष्ट्रहरूमा विद्युत व्यापार गर्न पहल गर्ने ।
८. विद्युत ऐनमा उल्लेख भएनुसार करार अवधि ५० वर्ष पुर्याउन पहल गर्ने ।
९. समय समयमा हुने मौद्रिक नीति तथा आर्थिक क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी हुने ।
१०. विद्युत व्यापारको लागि आवश्यक गाइडलाइनहरु निर्माणमा सहभागी हुने ।
११. सम्पूर्ण चरणमा निर्माणाधीन जलविद्युत आयोजनाहरूको जग्गा प्राप्ति, वन, उद्योग, गृह, ऊर्जालगायत दर्जनौं व्यवसायीको समस्या हल गर्न लागिपर्ने ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्विरोध चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सुर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उहाँ वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । इप्पानको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ। तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित हुनुभएको थिएन ।
उपाध्यक्षहरुमा आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन र रामप्रसाद आचार्य तथा महासचिवमा बलराम खतिवडा निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी इप्पानको उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको थियो। सचिवहरुमा भरत खड्का, हिमप्रसाद पाठक, विक्रम विष्ट, भरत नेपाल र कविता पोखरेल कँडलले पनि निर्विरोध हुनुभएको छ ।
तीन जना महिला सदस्यको पनि एकल उम्मेदवारी परेकाले सुशन कर्माचार्य, सुमनकुमार जोशी र ईशा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले विधान र निर्देशिका विपरित उम्मेदवारी परेको भन्दै अध्यक्षका उम्मेदवार किरण मल्ल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार सूर्य अधिकारीको उम्मेदवारी रद्द गरेको हो।
त्यसैगरी उपाध्यक्षद्वय विरेन्द्र मल्ल, दिपेन्द्र बम र महासचिवका उम्मेदवार विनोद देवकोटा र सचिवका उम्मेदवार नारायण कँडेलको उम्मेदवारी पनि रद्द गरिएको छ।