काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ ।
नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पनि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि प्रक्रिया अघि नबढाउन निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिनुभएको हो ।
नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको गलत नीति भन्दै संसद्मा नै विरोध उठेको थियो । योसँगै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको छ ।