काठमाडौं । अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई १५ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।
अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत सहयोग गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।
‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो पटक जर्मनीमा जी–७ का नेताहरूको सम्मेलनमा खाद्य संकटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, जी–७ का नेताहरूले पनि विश्व खाद्य संकटलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेका थिए ।