काठमाडौं । चन्द्रागिरि केबलकारमा कुनै समस्या नरहेको कम्पनीले दाबी गरेको छ ।
केबलकार सञ्चालक चन्द्रागिरि हिल्स प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा तथा जोखिमको निकै सजगता अपनाएको भन्दै चिन्ता लिनु नपर्ने बताएको हो ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा अस्ट्रेलियाको डुपलमेयर नामक उच्चस्तरीय प्रविधि तथा मेसिन प्रयोग गरिएकाले उत्कृष्ट रहेको बताउनुभयो । यद्यपि, कुनै समय आपतकालिन अवस्थामा केबलकारको गोण्डुला रोकिए तत्काल इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने उहाँको भनाइ थियो ।
‘सुरक्षाको मामलामा कम्पनीले कुनैपनि सम्झौता नगर्ने ढकालको भनाइ छ । यात्रुहरूको वा केबलकार प्रयोगकर्ताहरूको सुरक्षामा निकै सजक र सचेत रहेको बताउँदै ढकालले सुरक्षाको ग्यारेन्टी कम्पनीले लिने दाबी गर्नुभयो ।
सोही अवसरमा अध्यक्ष ढकालले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र कुनै समयमा प्राविधि समस्याका बाबजुद त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत तत्काल उद्वार गरिने बताउनुभयो । यस्तो उद्वार वीथ ईन, २५–३५ मिनेट भित्र गरिसकिने इन्जिनियर सरोज चापागाईँले बताउनुभयो। यात्राकै क्रममा गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र टप स्टेसनमै रोकिएका र तल झर्न असम्भव भएको अवस्थामा कम्पनीकै रिसोर्टमा खाने बस्नेको प्रवन्ध गरिने अध्यक्ष ढकालले बताउनुभयो ।
केही समयअघि नियमित केबलकारको गोण्डुला रोकिएपछि बजारमा चर्चासँगै यात्रुहरूमा त्रास फैलिएको थियो । लगत्तै कम्पनीले सोही त्रास र हल्लालाई चिर्न पत्रकार सम्मेलनको आयोजना गरेको हो । साथै, पछिल्लो पटक कम्पनीले केबलकार सञ्चालनको समय समेत थप गरेको जानकारी दिएको छ ।
यसअघिको समय सीमा बढाउँदै कम्पनीले साउन १ गतेदेखि दैनिक बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म केबलकार सञ्चालनमा ल्याएको जनाएको छ । बेलुका अफिस सकेर चन्द्रागिरि उक्लिन चाहनेहरुका लागि पनि सहज होस् भन्ने उद्देश्यले केबलकार सञ्चालनको बेलुकीको समय थप गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
