काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा बुधबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल भएको हो।
उक्त छलफल मौद्रिक नीतिबारे केन्द्रित रहेको मन्त्रालय स्रोतले बतायो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
अर्थमन्त्री शर्माले सेयरबजारमा सेयर धितो कर्जामा ४–१२ को नीति राख्दा सेयरबजारमा गिरावट आएकाले सम्बोधन गर्न भन्न्ुभएको थियो। त्यस्तै उहाँले बैंकरहरुले उठाएको सीडी रेसियोमा खुकुलो नीति लिन गरेको मागलाई ध्यान दिन आग्रह गर्नुभयो।
मन्त्रीले यस्तो आग्रह गरेपछि गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई अहिलेको अर्थतन्त्रअनुसार कसिलो नीति नै उपयुक्त हुने देखिएको जवाफ दिनुभएको थियो।